साउन१९,निजगढ। गत १३ गते बाराको निजगढमा दूर्घटनामा परि ज्यान गुमाएका समीर चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको खुलेको छ।
कोल्हवी नगरपालिका-५ का २० वर्षिय चौधरीको गत साउन १४ गते मृत्यु भएको थियो।
चौधरीलाई १३ गते राती ११ बजेर ५ मिनेटको समयमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले निजगढ-८ तामागढी गेटस्थित पूर्वपश्चिम राजमार्गको उतरतर्फ अचेत अवस्थामा घाईते फेला पारेका थिए।
बारा प्रहरीका अनुसार घटनास्थलमा एउटा आर्मी कलरको ब्याग,कालो टिसर्ट ,कालो पाईन्ट र कालो बुट लगाएका चौधरीलाई टाउकोमा गम्भिर चोट लागेको अवस्थामा उद्धार गरि समुदायिक अस्पताल,निजगढमा उपचारार्थ पुर्याईएको थियो।
सामुदायिक अस्पतालले तत्काल रिफर गरि वीरगंजस्थित एल.एस.न्युरो अस्पताल पुर्याईएपनी उनको उपचारकै क्रममा भोलि पल्ट ४ बजे तिर मृत्यु भएको प्रहरीले जनाएको छ।
चौधरीको मोबाईलमा आफन्तले फोन गरेपछी उनको विवरण खुलेको थियो।
घटना यसरी पत्ता लाग्यो
चौधरी चढेर आएको बा.प्र.०३-००१ ख ३८३७ नम्बरको न्यु डायमण्ड ट्राभलसको बसको ढोका निर रहेको सिसिटिभी फुटेज र बसको अगाडी पट्टि रहेको सिसिटिभी फुटेजमा चौधरी १३ गते राती ११ बजेर ५९ मिनेट ५९ सेकेण्डमा सो बसबाट सकुशल ओर्लेका देखिएको र सो बसबाट ओर्लेर केहि कदम हिँड्ने बितिक्कै को १ ख ७८०८ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिई सख्त घाईते बनाएको खुलेको प्रहरीले जनाएको छ।
उनको निधारमा चुच्चो फलामको भागले काटेको जस्तो घाउ देखिएको थियो।
प्रहरीका अनुसार उक्त बसको सिसिटिभी फुटेजमा देखिएका क्रस भई गएका सवारी साधनहरुको खोजि गर्दै अनुसन्धान गर्ने क्रममा उक्त ट्रकले नै चौधरीलाई ठक्कर दिएको एकिन भएको र ट्रक र ट्रकका चालक सन्दिपकुमार भण्डारीलाई ईलाका प्रहरी कार्यालय,निजगढमा ल्याई सोधपुछ गर्दा उनले दुर्घटना स्विकार गरेका थिए।
चालक भण्डारीलाई जिल्ला अदालत कलैया,बाराबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



