साउन२३,हेटौंडा।मकवानपुर प्रहरीले विभिन्न लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ जना नाबालक पनि छन्। प्रहरीले लागूऔषध गाँजासहित २ जना नाबालकलाई पक्राउ गरेको हो।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलिले विहिवार दिउँसो २ बजेको समयमा रातोमाटेस्थित चेकपोइन्टबाट ती नाबालकहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नाबालकहरुबाट बरामद गाँजा।
चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ६ ख ९५३३ नम्बरको यात्रुबसमा सवार ती नाबालकहरुलाई शंका लागी खानतलासी गर्दा उनिहरुले बोकेको झोलाभित्र ९ किलो २ सय ग्राम गाँजा फेला परेकोले उनिहरुलाई जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीले हेटौंडा-४ स्थित कमल डाँडाबाट लागूऔषध खैरो हिरोईनसहित २ युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरको गढी नगरपालिका-१ घर भई कमल डाँडामा डेरा गरि बस्ने २४ वर्षिय दिलबहादुर सार्की र चौकी टोल बस्ने बर्ष २४ कै कुमार लो छन्।

लागूऔषध खैरो हिरोईन।
लागूऔषध कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विहिवार ६ ग्राम ७२० मिलिग्राम खैरो हिरोईनसहित उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनिहरुले स्टिलको बाकसमा चप्पल भित्र उक्त लागूऔषध लुकाई छिपाई राखेका थिए।
यस्तै,प्रहरीले शुक्रवार (आज)लागूऔषध ओनरेक्ससहित अर्का २ युवालाई पक्राउ गरेको छ।

लागूऔषध ओनरेक्स।
पक्राउ पर्नेमा हेटौंडा-११ नवलपुरका ३० वर्षिय विशाल पौडेल र हेटौंडा-१२ पदमपोखरीका २९ वर्षिय पाल्डुव लामा छन्।
लागूऔषध कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हेटौंडा- १० सिमाचोक स्थित फेमस तास हाउस अगाडीबाट पक्राउ गरेको हो।

बरामद मोटरसाइकल।
पार्किङ गरी राखेको ना २३ प ६८३७ नम्बरको मोटरसाइकलमा बसिरहेका उनिहरुलाई शंका लागी खानतलासी गर्दा लागूऔषध ओनरेक्स १०० एमएल लेखिएको १५ बोत्तल फेला परेको प्रहरीले जनाएको छ।
उनिहरुलाई जिल्ला अदालत,हेटौंडाबाट लागूऔषध मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।



