मंसिर९,निजगढ।बाराको पचरौतामा नेपाल प्रहरी र भारतीय तस्करबिच गोली हानाहान भएको छ।
गत आईतवार राती पौने १२ बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोली र भारतिय तस्करहरुबिच पचरौता नगरपालिका-६ चिकनीटोलमा गोली हानाहान भएको प्रहरीले जनाएको छ।
भारतको हनुमाननगरतर्फबाट नम्बर नखुलेको ट्याक्टरमा तस्करीका समानहरू लोडगरी नेपालतर्फ आउँदै गरेका करिब २५ जनाजति तस्करहरूको समुहसँग एक्कासी जम्काभेट भएपछि उनिहरुलाई रोक्नखोज्दा तस्करहरुले प्रहरीमाथी एक्कासी कटुवा बन्दुबाट २ राउण्ड गोली फायर गरेका थिए।
प्रहरी गस्ती टोलीले पनि 9MM पेस्तोलबाट ७ राउण्ड जवाफी फायर गर्दा तस्कर समुहहरू ट्याक्टरसहित भारततर्फ भागेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
सो क्रममा तस्करहरूले चलाई आएको चार ओटा मोटरसाईकल र अन्य समानहरू घटनास्थल वरिपरि दसगजामा छोडी भागेका थिए।
उक्त मोटरसाईकलहरू र समानहरू बरामद गरी थप अनुसन्धान कार्य भईरहेको डिएसपी पण्डितले बताए।

तस्करहरुले छाडी भागेका मोटरसाइकलहरु।
तस्करहरुले घटनास्थलमा छाडी भागेका सामानहरु निम्न छन् :
१)BR05BL4154 नं.को बजाज कम्पनिको पल्सर मोटरसाईकल ।
२) BR05B6864 नं.को स्पलेण्डर मोटरसाईकल ।
३) BR05BD9821 नं.को बजाज कम्पनिको पल्सर मोटरसाईकल ।
४) BR05AW0501 हेरो कम्पनिको स्पलेण्डर मोटरसाईकल ।
५) OPPO कम्पनीको भारतीय सिम प्रयोग भएको स्क्रीन टच मोबाइल थान १ ।
६) सामसुङ कम्पनीको भारतीय सिम एयर टेल कम्पनी र NCELL कम्पनीको सिम प्रयोग भएको स्क्रीन टच मोबाईल थान १ ।
७) भारतीय नागरिक रंजित कुमारको नाममा रहेको सवारी चालक अनुमति पत्र थान १ ।



