मंसिर१०,हेटौंडा। हेटौंडामा ‘मेरो बुलन्द आवाज जुनियर सिजन–१’ हुने भएको छ।‘मनको कुरा मञ्चसम्म’ भन्ने मूल नारासहित ‘मेरो बुलन्द आवाज जुनियर सिजन–१’ पब्लिक स्पिकिङ कार्यक्रम हुन लागेको हो ।
पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा र ड्रिम्स म्युजिक स्कुल हेटौंडाको साझा प्रयासमा कार्यक्रम हुन लागेको ट्रेनिङ सेन्टर हेटौंडाका प्रमुख रुपक कालिराजले जानकारी दिए। जिल्लामा पहिलोपटक पब्लिक स्पिकिङ रियालिटी शो आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा आफु हर्षित भएको उनले बताए।

‘जिल्लाभरीका विद्यार्थीहरुलाई आत्म–विश्वास, अभिव्यक्ति क्षमता, वक्तृत्वकला र नेतृत्वगुण विकासमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयहरुमै पुगेर छनौट गरिनेछ।’ उनले भने।
कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो विचार खुलस्त र निर्धक्क व्यक्त गर्न, सामाजिक तथा शैक्षिक विषयमा बोल्न, सिक्न तथा सार्वजनिक सहभागितामा अग्रसर हुन महत्वपूर्ण भूमिका निभाउने कार्यक्रमका निर्देशक अनन्त खुलालले बताए।
मेघा अडिसनकालागि स्टुडियोको निर्माण अन्तिम चरणमा पुगिसकेको र प्रि—अडिसन यहि मंसिर १५ गतेदेखि शुरु हुने उनले बताए। प्रवेश शुल्क निशुल्क रहने अडिसनमा करिब ५ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।
लामो समय खोजपत्रकारितामा सक्रिय रहेका देवराज पन्त, आधुनिक राष्ट्रिय माविका सह—प्रध्यानाध्यापक मालती पोखरेल र तुलसी मेहर मोमोरियल माविका सहायक प्रिन्सीपल कमल नेपाल निर्णायकका रुपमा रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार,दोश्रो हुनेले नगद ३० हजार र तेश्रो हुनेले नगद २० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न करीब १० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।



