फागुन ५,हेटौंडा। मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित चिसापानीमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। धरान-चतरा सडक खण्डको बीच भागमा भेटिएको उक्त वस्तुभित्र कुनै पनि विस्फोटक पदार्थ नरहेको पुष्टि भएको छ।

आज (मंगलबार) बिहान करिब ५:१५ बजे अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको मोटरसाइकल गस्ती टोलीले सडकको बीचमा एउटा शंकास्पद वस्तु फेला पारेको थियो।

सेतो कपडाले बेरिएको र बाहिर पट्टि स्पष्ट रूपमा “खतरा” लेखिएको उक्त वस्तु फेला परेपछि केही बेर सो क्षेत्रमा त्रास फैलिएको थियो।

प्रहरीले तत्काल उक्त क्षेत्रलाई घेरा हाली सुरक्षा प्रदान गरेको थियो। लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीसँग समन्वय गरी बिहान ८:१० बजे उक्त वस्तुलाई डिस्पोज गरिएको थियो।

डिस्पोज पश्चात् जाँच गर्दा उक्त कार्टुनभित्र प्लास्टिक बाहेक अरु केही नभेटिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।

​सर्वसाधारणमा त्रास फैलाउने उद्देश्यले कसैले “होक्स” (नक्कली बम) राखेको हुनसक्ने अनुमान गरिएको छ। अहिले उक्त सडक खण्डमा यातायात पूर्ण रूपमा सुचारु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय