फागुन २८,हेटौंडा।मकवानपुरको मनहरीमा लागुऔषध सेवन गरी झैझगडा गरिरहेका युवाहरूको समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै साङ्घातिक आक्रमण भएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् भने घटनामा संलग्न अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हिजो राति करिब ८:५० बजेको समयमा मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवन र झैझगडा भइरहेको सूचना पाएपछि प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) दिलबहादुर तामाङको कमाण्डमा टोली खटिएको थियो।
सोधपुछ गर्ने क्रममा उच्छृङ्खल समूहले अचानक बियरको बोतल, खुकुरी र बन्चरोले प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। आक्रमणबाट प्रसनि तामाङको दुवै हातमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीमाथि नै ज्यान लिने उद्देश्यले आक्रमण भएपछि आत्मरक्षाका लागि प्रसनि तामाङले आफ्नो साथमा रहेको पेस्तोलबाट १ राउन्ड हवाई फायर गरेका प्रहरीले जनायो।
गोली लागेर हेटौंडा उपमहानगरपालिका–१२ हात्तीगौंडा बस्ने १९ वर्षीय सनिस तितुङ घाइते भएका छन्। उनको पेटको दाहिने भागमा गोली लागेको छ।
घाइते प्रहरी अधिकारी र तितुङ दुवैलाई तत्काल उपचारका लागि हेटौंडास्थित CMC चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो।
घटना लगतै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) पुष्कर बोगटीको नेतृत्वमा थप टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न हेटौंडा-१२ रमनटारका २४ वर्षिय सन्जय जिम्बा र ३५ वर्षिय अजय थिङलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरू र गोली लागेका तितुङ ‘सिरियल’ अपराधी हुन्। उनीहरू यसअघि पनि लागुऔषध, ज्यान मार्ने उद्योग र चोरी जस्ता गम्भीर अपराधमा संलग्न रहँदै आएको खुलेको छ।
हाल पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप कानुनी कारबाही र अनुसन्धान अगाडि बढाइएको प्रनाउ बोगटीले जानकारी दिएका छन्।



