चैत्र २१,हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नं. १२ स्थित टिष्टुङमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज (शनिबार) दिउँसो अन्दाजी ०१:३० बजेको समयमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १७५० नम्बरको ट्रकको अगाडिको दाहिने साइडको पट्टा अचानक भाँचिएर सडकमा पल्टिएको थियो।
दुर्घटनाको क्रममा ट्रकबाट हाम फाल्दा चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २, मौवाखोला बस्ने २७ वर्षीय धुर्व घले घाइते भएका छन्।
उनको दाहिने खुट्टाको पौतालामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते घलेलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको छ।
बाटो खुलाउने प्रयास जारी
दुर्घटना लगतै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। ट्रक सडकको बीचमै पल्टिएका कारण त्रिभुवन राजपथमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
अहिले प्रहरी र स्थानीयको सहयोगमा सडकमा पल्टिएको ट्रक हटाएर बाटो खुलाउने पहल भइरहेको जानकारी प्राप्त भएको छ। सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन्।



