बैशाख ५, धनगढी। कैलालीको चुरे गाउँपालिकामा मरेको ब्रोइलर कुखुराको मासु खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ।
हिजो बिहीबार मरेको कुखुरा पकाएर खाएका चुरे गाउँपालिका–३, भक्तपुरका दुई दाजुभाइको उपचारका क्रममा आज शुक्रबार मृत्यु भएको हो।

मृत्यु हुनेमा ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार, उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
सोही मासु खाएका मृतकहरुकी २८ वर्षीया आमा राधिका ताम्राकार र ३ वर्षीय भाइ दिपेश ताम्राकार समेत गम्भीर बिरामी परेका छन्। उनीहरूको हाल सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।
फार्म सञ्चालक प्रहरी नियन्त्रणमा
प्रारम्भिक अनुसन्धानका क्रममा ताम्राकार परिवारले स्थानीय विकास पोल्ट्री फार्मबाट मरेको कुखुरा खरिद गरेको खुलेको छ।
फार्म सञ्चालक मंगल साउँद आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका छन्। प्रहरीले उनलाई आवश्यक परेको बेला उपस्थित हुने गरी हाल आफन्तको जिम्मा लगाएको जनाएको छ।
मरेको पन्छी वा जनावरको मासु खानु स्वास्थ्यका लागि अत्यन्तै जोखिमपूर्ण हुने भन्दै स्वास्थ्यकर्मीहरूले यसबारे सचेत रहन आग्रह गरेका छन्।




