असार १६,हेटौंडा। नेपालमा पछिल्ला केही वर्षयता डिजिटल राइड सेयरिङ सेवाको विस्तार तीव्र रूपमा भइरहेको छ।
कम्पनीले विभिन्न सहरहरूमा सेवा विस्तार गरिरहेको अवस्थामा हेटौंडाबाट पनि राइड सेयरिङ प्लेटफर्म “तुफान राइड सेयरिङ” सञ्चालनमा आएको छ।
हेटौंडालाई केन्द्र बनाएर सुरु गरिएको सेयरिङले मकवानपुरका विभिन्न स्थानीय तह तथा चितवन जिल्लाको भरतपुरसहित आसपासका क्षेत्रमा सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
तुफान सेयरिङका चितवन मकवानपुर इन्चार्ज भक्तराम चौलागाईंका अनुसार कम्पनीले यात्रु र चालक दुवैलाई सहज, सुरक्षित तथा भरपर्दो डिजिटल यातायात सेवा उपलब्ध गराउने उद्देश्यका साथ सेवा सञ्चालनमा ल्याएको हो।
उनका अनुसार स्थानीय आवश्यकता र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको छ।
नेपालमा स्मार्टफोन र इन्टरनेटको पहुँच बढेसँगै राइड सेयरिङ सेवाप्रति नागरिकको आकर्षण पनि बढ्दै गएको छ।
यस्ता सेवाले यात्रुलाई सहज रूपमा सवारी साधन उपलब्ध गराउनुका साथै चालकहरूलाई अतिरिक्त रोजगारी तथा आम्दानीको अवसर पनि सिर्जना गर्दै आएको छ।
विशेषगरी शहरी तथा अर्धशहरी क्षेत्रमा राइड सेयरिङ सेवा सार्वजनिक यातायातको प्रभावकारी विकल्पका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
तुफान राइड सेयरिङले स्थानीय बजारलाई प्राथमिकतामा राखेर प्रतिस्पर्धी सेवा, उचित भाडादर, यात्रुको सुरक्षा र चालकमैत्री सुविधालाई प्राथमिकता दिने जनाएको छ।
कम्पनीले आगामी दिनमा सेवा क्षेत्र थप विस्तार गर्दै मकवानपुर र चितवनका अन्य नगर तथा गाउँपालिकामा पनि सेवा उपलब्ध गराउने योजना रहेको जनाएको छ।
राइड सेयरिङ क्षेत्रको बढ्दो प्रतिस्पर्धाबीच कम्पनीको प्रवेशले यात्रुलाई थप विकल्प उपलब्ध गराउने र सेवा गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



