असार १८, हेटौंडा। हेटौंडामा धारिलो हतियार (टाप) प्रयोग गरी कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका-१०, रानीमहलस्थित जय गणेश वर्कसपमा कार्यरत सुरक्षागार्डमाथि आक्रमण गर्ने मकवानपुर हेटौंडा-५ का ३३ वर्षीय सबिन नेपाली पक्राउ परेका हुन्।
प्रहरीका अनुसार गत असार १६ गते राति करिब ११:५५ बजेको समयमा वर्कसपका सुरक्षागार्ड, नुवाकोटको सूर्यगढी गाउँपालिका-१ का ३२ वर्षीय रोहित तामाङमाथि सबिनले कुटपिट गरेका थिए।
कुटपिटका क्रममा नेपालीले शरीरका विभिन्न भागमा धारिलो हतियार (टाप) प्रहार गरी तामाङलाई गम्भीर घाइते बनाएका थिए। घटनापछि आरोपित नेपाली फरार भएका थिए।
सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले व्यापक खोजतलास सुरु गरेको थियो।
सोही क्रममा आरोपित नेपालीलाई घटना भएको केही घण्टाभित्रै, अर्थात् असार १७ गते बिहान २:०० बजेको समयमा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नेपालीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ कसुरमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाएको छ।



