​काठमाडौँ, ११ कात्तिक ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ।

उक्त भेटमा जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्ने विषयमा गहन छलफल भएको छ।

​भेटवार्ताका क्रममा विशेषगरी जातीय भेदभाव र छुवाछुतका घटनामा संलग्न दोषीहरूलाई प्रचलित कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने र पीडितलाई शीघ्र न्याय दिलाउने विषयमा जोड दिइएको छ।

यसका लागि नेपाल प्रहरीमा रहेको दलित सहायता कक्षलाई थप सक्रिय र प्रभावकारी बनाउने, प्राप्त उजुरीहरूलाई संवेदनशीलताका साथ ग्रहण गर्दै शीघ्र अनुसन्धान तथा अभियोजन प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

साथै, प्रहरी कर्मचारी तथा अधिकारीहरूलाई नियमित तालिम र ब्रिफिङमार्फत जातीय विभेदविरुद्धको कानुनी व्यवस्था र पीडितमैत्री व्यवहारप्रति थप जिम्मेवार बनाइनेछ।

​यसैगरी, महिला तथा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रण, जोखिममा रहेका बालबालिकाको संरक्षण, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइने भएको छ।

यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय गराई थप सक्रिय बनाउने निर्णय गरिएको छ।

सीमान्तकृत समुदायका उजुरीलाई प्राथमिकता दिँदै पीडितको कानुनी उपचार र संरक्षणमा पहुँच सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको छ।

​त्यस्तै, सीमापारी बालबालिकाको ओसारपसार तथा मानव बेचबिखनको जोखिम न्यूनीकरण गर्न सीमा क्षेत्रमा जाँच तथा निगरानी कडा पारिने भएको छ।

यस कार्यका लागि स्थानीय बालकल्याण अधिकारी र स्थानीय तहसँग सहकार्य बढाउँदै सामाजिक सचेतना अभिवृद्धि गर्ने रणनीति तय गरिएको छ।

भेटवार्ताको अन्त्यमा, मन्त्रालय र नेपाल प्रहरीबीचको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाएर हिंसापीडितको संरक्षण तथा सीमान्तकृत वर्गको अधिकार सुनिश्चित गर्न दुवै पक्ष प्रतिबद्ध रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय