फागुन २, चन्द्रपुर। रौतहटको गरुडा नगरपालिका १ जयनगरमा आजदेखी फर्निचर मेला सुरु भएको छ । चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत जयनगर चोकमा श्रीपञ्चमीको अवसरमा प्रत्येक वर्ष लाग्दैआएको फर्निचर मेला यस पटक पनि सुरु भएको हो। नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा जयनगरमा पछिल्लो एकदशक भन्दा बढी समय देखि फर्निचर मेला लाग्दै आएको छ।
मेलामा घरायसी प्रयोजनका साथै कृषिमा प्रयोग गरिने घरेलु यन्त्र काठको फर्निचर र फलामका विभिन्न सामग्री बिक्री हुने गर्दछन्। मेलामा साल, सिसम, टिक, आँप लगायत जातको काठ प्रयोग गरी बनाइएको बक्स पलङ सेट ,डाइनिङ टेबल सेट, कुर्सी, खाट, बेन्च, ढोका, ड्रेसिङ टेबल, झ्याल, दराज लगायतका सामान सस्तो मूल्यमा खरिद बिक्री हुने गर्दछ। त्यस्तै मेलामा फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरी लगायतका सामग्री पनि खरिद बिक्री हुने गरेको छ ।
तराई मधेशमा बिबाहमा काठको फर्निचर अनिवार्य रुपमा दिनुपर्ने चलन छ । त्यसैले त्यस्ता अभिभावकका लागि पनि जयनगर फर्निचर मेला सस्तो बजारको रूपमा स्थापित छ।
चैत महिनासम्म लाग्ने फर्निचर मेलामा यसपटक पाँच करोड रुपैयाँको कारोबार हुने आयोजक पक्षको लक्ष्य छ । गतवर्ष मेलामा चार करोड रुपैयाँको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय