फागुन १२, हेटौँडा ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं–६ स्थित चौघडाको विभिन्न स्थानमा बाँदर तथा अन्य वन्यजन्तुले बालीमा क्षति पु¥याउन थालेपछि स्थानीय चिन्तित भएका छन् ।
वर्षभरि गरिएको खेती भित्र्याउने बेलामा बाँदर, बँदेल, दुम्सी, मृग जस्ता वन्यजन्तु पसेर बाली विनास गर्ने क्रम बढेसँगै यस क्षेत्रका स्थानीयले जनवार नियन्त्रणको माग गरेका छन् । उनीहरुले जनावरको नियन्त्रण तथा त्यसबाट भएको क्षतिपूर्तिको माग गर्दै शुक्रबार जनप्रतिनिधिको ध्यानाकर्षण समेत गराएका छन् ।
वडामा रहेको रानी तथा चुच्चेखोला सामुदायिक वन समूहसँग जोडिएको करिब तीनसय घरधुरीका बासिन्दा वन्यजन्तुबाट पीडित भएका छन् । हेटौंडा–६ को न्युरेनी, दिव्यनगर, नवप्रभात, शान्ति, रक्षादेवी र चुच्चेखोला क्षेत्रका स्थानीयले वन्यजन्तुबाट हुने क्षतिलाई रोक्नका लागि संघर्ष समिति नै बनाएर अगाडि बढ्ने तयारी गरेको नवप्रभात टोल विकास समितिका अध्यक्ष शोभा घिमिरेले बताईन्।
डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत बसन्तराज गौतमले बाँदरको प्रकोप अहिले देशैभर बढेको बताँउदै बाँदर नियन्त्रणका लागी जंगलमा नै फलफूलका बोटविरुवा रोप्नुपर्ने बताए। संरक्षित वन्यजन्तु भएकाले बाँदरलाई मार्न नमिल्ने उनको भनाई छ ।
यता हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहालले बाँदरबाट भइरहेको क्षति न्यूनीकरण गर्न वडा र उपमहानगरले काम गरिरहेको दाबी गरे । बाँदरले नबिगार्ने बाली रोप्नु नै तत्कालको लागि उपयुक्त विकल्प भएको उनको भनाई छ ।
बाँदरबाट हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ मा मात्रै करीब ३ सय घरधुरी प्रभावित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय