जेठ २१,सिंगौल। गुडिरहेको सवारीसाधनलाई अचानक रुखले थिच्यो भने के हुन्छ होला? सवारी साधनमा सवार कोहि सकुशल छैनन् होला,सबैको साझा जवाफ यहि नै हो। तर,बाराको निजगढ नगरपालिकामा गुडिरहेको स्कुटर अचानक रुखको हाँगाले थिच्दा स्कुटरमा सवार एक दम्पती भने सकुशल रहन सफल भएका छन्।
घटना सोमबार दिउँसोको हो।
बाराको निजगढ नगरपालिका अन्तर्गत भित्री सडकखण्डमा पर्ने निजगढ -सिंगौल सडकखण्डमा गुडिरहेको स्कुटरमा अचानक रुखको हाँगो खस्यो। स्कुटरमा सवार एक दम्पती भने सकुशल रहे।
सोमबार दिउँसो पौने २ बजे ना३४ प १७४५ नम्बरको स्कुटर सुकेपोखरी नजिकै हावाहुरिका कारण भाँचिएको रुखको हाँगोले थिचेपनि,स्कुटरमा सवार निजगढ-२ का ३६ वर्षिय रबिन घिमिरे र उनकी श्रीमती रुकु काफ्ले घिमिरे भने सकुशल रहेका हुन्।

दूर्घट्नामा बाँच्न सफल घिमिरे दम्पती ।
`हामी जाँदा जाँदै रुख लड्न लागेको देखेँ,म चल्दाचल्दैको स्कुटरबाट हामफालेँ,मेरो श्रीमान पनि स्कुटर छोडेर भाग्नुभो।´ स्कुटरमा पछाडी सवार रुकु घिमिरेको भनाई उधृत गर्दै अस्थायी प्रहरी पोष्ट सिंगौलका ईन्चार्ज बिष्णु विडारीले भने।
ईन्चार्ज विडारीका अनुसार घिमिरे दम्पती रुखको हाँगोले लाग्दा सामान्य घाईते भएका छन्।
रुखको हाँगो खस्दा सिंगौल क्षेत्रमा केही घण्टा अवरुद्ध रहेको सडक र विद्युत आपुर्ती भने सशस्त्र प्रहरी,ईलाका प्रहरी निजगढ,अस्थायी प्रहरी पोष्ट सिंगौलका प्रहरी,जनप्रतिनिधि तथा स्थानियको पहलमा सुचारु भएको ईन्चार्ज विडारीले बताए।उक्त सडकखण्डमा बिहिवार साँझपनी हावाहुरीले रुखको हाँगो भाँच्चिदा सडक र विद्युत आपूर्ति अवरुद्ध भएको थियो।




