असार २, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल २ अर्ब ४३ करोड ८९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
आइतबार बसेको १५ औं नगरसभा बैठकमा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६ दशमलव ०७ प्रतिशत कम बजेट प्रस्ताव गरेका हुन्।
उपप्रमुख बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुलता, संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण बजेटको आकार घटाइएको बताए । आगामी आर्थिक वर्षको लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ रहेका छन् ।
उपमहानगरले हेटौंडा–१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ६ करोड रुपैयाँ तथा सहरी सडक मर्मतका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड, खानेपानीको न्यून महसुल भुक्तानीका लागि २ करोड ८ लाख बजेट विनियोजन गरिएको छ । यस्तै उज्यालो शहर कार्यक्रम अन्तर्गत स्ट्रिट लाइट जडानको लागि उपमहानगरले ३० लाख बजेट विनियोजन गरेको उपप्रमुख बानियाँले बताए।
नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेकी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय