असार २,हेटौंडा । बारा जिल्लाको बारागढी गाउँपालिका–१ पिप्रा स्थायी घर भएका पूर्व पत्रकार रामकुमार दास(रामदेव) स्विट्जरल्याण्डको प्रदेश सांसद बनेका छन्। उनि त्यँहाको प्रदेश सांसद बन्ने पहिलो नेपाली हुन्।
२०६४ सालदेखि स्विट्जरल्याण्डमा स्वास्थ्यकर्मिका रुपमा काम गर्दै आएका दासले गत सोमबार ग्राउबुन्डेन प्रदेशको सांसदको भूमिकामा रहने गरी सपथ लिएका हुन् । सोसल डेमोक्रयाटिक पार्टी अफ स्विट्जरल्याण्ड (एसपी) को सक्रिय राजनीतिमा लागेका रामकुमारलाई यो अवसर मिलेको हो ।
आफ्नो पार्टीका एक सांसद फिर्ता भएपछि आफूलाई दुई वर्षका लागि प्रदेश सांसदको रुपमा काम गर्ने अवसर मिलेको उनले बताए ।त्यँहा कुनै पनि पार्टिका सांसद कुनै कारणवश फिर्ता भए भने सबैभन्दा कम मतान्तरले पराजित सांसद पदको उम्मेद्धारलाई निमित्त सांसदका रुपमा राख्ने संवैधानिक व्यवस्था रहेको दासले समाचार क्लबलाई बताए। सोही व्यवस्था अनुरुप उनले त्यहाको सांसद बन्ने अवसर प्राप्त गरेका हुन्।
दासलाई सोेसल डेमोक्रयाटिक पार्टीले सन् २०२२ मा ग्राउबुन्डेन प्रदेशको सांसद पदको उम्मेदवार बनाएको थियो । तर उनि प्रतिद्धन्दीसँग ६० मतले मात्र पराजित बनेका थिए। त्यँहा ग्राउबुन्डेनसहित २६ ओेटा प्रदेश छन्।

स्विट्जरल्याण्ड सम्मको यात्रा र संघर्ष
बारामा पत्रकारिता गर्ने क्रममा २०६४ साल असोज १८ गते दाससँगै अर्का पत्रकार बीरेन्द्र साह तत्कालिन माओवादी कार्यकर्ताहरुको अपहरणमा परे। अपहरणपछि बीरेन्द्र साहको हत्या भयो भने दासले भागेर ज्यान जोगाए। त्यतिबेला दासले आफुलाई नेपालमा असुरक्षित महशुस गरे अनि जीवन रक्षाका लागी अर्को मुलुक जाने बाटो खोजे । फलस्वरुप २०६४ मै पत्रकार महासंघ र मानव अधिकार संगठनको पहलमा उनि स्वीट्जरल्याण्ड पुगे।
एक छोरा,एक छोरी र श्रीमतीका साथमा स्वीट्जरल्याण्ड बस्दै आएका४४ वर्षिय दासले त्यँहा सुरुमा पत्रिका बेच्ने देखि सफाइको काम गरेको बताए ।
भाषा(जर्मन) अध्ययनपछि आफुलाई स्वास्थ्यकर्मीको रुपमा स्थापित गराएका दासले
ग्राउबुन्डेन प्रदेशको सदरमुकाम खुर क्षेत्रबाट राजनीति सुरु गरेका थिए।
आफुले स्विट्जरल्याण्डको संसद भवनमा पुगेर काम गर्छु भन्ने नसोचेको बताउने दास, त्यँहाको भाषा अध्ययनपछि आफूलाई स्टाफ नर्सको रुपमा स्थापित गराएर स्थानीय राजनीतिमा घुलमिल गर्न सहज बनेको बताउँछन।
स्टाफ नर्सहरूको संगठित समूहमा केन्द्रीय तहमा रहेर काम गर्ने अवसर पाएपछि उनलाई सोसल डेमोक्रयाटिक पार्टीले सन् २०२२ मा ग्राउबुन्डेन प्रदेशको सांसद पदको उम्मेदवार बनाएको थियो । ग्राउबुन्डेन प्रदेशमा चुनाव लडेका उनको त्यतिबेला भने सांसद बन्ने सपना पूरा भएन ।
उनलाई कोरोना महामारीको समयमा गम्भिर खालका बिरामीहरुको स्याहारसुसार जिम्मेवारीपूर्वक निभाएको भन्दै त्यँहाको स्वास्थ्य मन्त्रालयले सन् २०२०मा ‘कोरोना हिरो’को उपाधिले समेत सम्मान गरेको थियो । त्यतीबेला आफु स्थानीय मिडियामा चर्चित बनेको उनले सुनाए।
‘कोरोना हिरो’ बाट लोकप्रिय बनेपछि राजनीतिमा होमिएका दासलाई सोसल डेमोक्र्याटिक पार्टीले अवसर दिएको उनको भनाई छ।

स्विट्जरल्याण्डमा सार्वजनिक पदमा बसेर आर्थिक लाभ उठाउँछु भन्ने मानसिकता सम्भवत कसैको पनि नहुने उनले बताए।
‘यहाँ सांसद बनेर जीवनमा ठुलो परिवर्तन आउने केही पनि होइन, नेपालमा जस्तै सांसद बनेपछि ठूलै मान्छे बनियो भन्ने पनि चलन हुँदैन,’ उनले थपे, ‘सांसदको हिसाबले केही बैठकहरूमा उपस्थित हुनुपर्छ । त्यो बाहेक मुख्य काम त आफ्नो पेशामा नै आबद्ध रहनु पर्छ ।’ पङ्गतिकारसँगको भिडीयो कुराकानीको क्रममा पनि सांसद दास साईकलमा सवार देखिन्थे।
प्रत्येक ३–३ महिना गरेर वर्षको चार पटक संसद बैठक बस्ने उनी बताउँछन् । प्रत्येक सेसनको बैठक पाँच दिनसम्मको मात्रै हुन्छ । ‘बैठकको भत्ता ४ सय स्विस फ्रान्क बाहेक अरु केही पाइँदैन । सांसदलाई कुनै तलब पनि हुँदैन’, उनले अघि भने, ‘सबैको आ–आफ्नै काम हुन्छ । सरकारी तलब भत्तामा कसैको पनि ध्यान जाँदैन ।’
नर्सको काम गर्दा आफूले दैनिकरुपमा २८५ स्वीस फ्रान्क कमाउने बताउँदै भत्तामा ध्यान दिन जरुरी नरहेको पनि उनले सुनाए ।
आप्रवासी समस्याबारे संसदमा आवाज उठाउने रामकुमारको योजना रहेको छ । ‘हप्ताको ५ दिन दैनिक ९ घण्टा म बिरामीकै स्याहारमा खट्ने छु । बाँकी प्रत्येक ३ महिनामा हुने संसद बैठकमा भने कामबाट छुट्टि मिलाएर बैठकमा सहभागी बन्नेछु ।’, उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय