कार्तिक २५,हेटौंडा । सिन्धुलीको हरिहरपुरमा एक प्रधानाध्यापकमाथी गोली प्रहार भएको छ ।
मकवानपुरबाट सिन्धुली तर्फ जाने क्रममा हरिहरपुरगढी गाउँपालिका–६ स्थित हप्सेमा बागमती गाउँपालिका–१ का प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । बोम्जन बकैया गाउँपालिका–३ हात्तिसुँढेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।

तराई मुलका ३ जना अपरिचत व्यक्तिले बोम्जनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिलकुमार खड्काका अनुसार मकवानपुरबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि गोली प्रहार भएको थियो ।
उनका अनुसार ३ जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार उनलाई रोकी छोटो हतियार (कट्टा) प्रहार गरेका थिए । गोली प्रहार गरेसंगै तीनै जना फरार रहेको प्रहरी उपरिक्षक खड्काले बताए । बोम्जनसंगै सवार निजका भाई दिलबहादुर बोम्जन भने सकुशल रहेका छन् ।
गोली प्रहारबाट मोटरसाइकल चलाइरहेका बोम्जनले प्रयोग गरेको हेलमेटको दायाँ तर्फबाट गाला छेडिएको प्रहरी नायव उपरिक्षक खड्काले बताए । गोली बोम्जनको दाँतमा अड्किएको उनको भनाई छ ।
गोली प्रहारबाट घाइते भएका बोम्जनको सर्लाही स्थित मोडल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लाथि वीरगञ्जको वयोधा अस्पताल पठाइएको प्रहरी उपरिक्षक खड्काले बताए । बोम्जनको अवस्था सामान्य रहेको र गोली प्रहार गर्नेहरुको खोजीकार्य भइरहेको खड्काले बताएका छन् ।




