कार्तिक १४,हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ तिनतल्ले फास्टट्र्याक नजिक मदनभण्डारी लोकमार्गमा डिजेल लोड गरिएको ट्याङ्कर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार हिजो शुक्रबार साँझ अन्दाजी साँढे ७ बजे हेटौँडाबाट हात्तिसुँतढेर्फ जाँदै गरेको ना ६ ख २९४९ नम्बरको डिजेल लोड ट्याङ्कर अनियन्त्रित भई सडकको बायाँ साइडमा कोल्टो परेर पल्टिएको थियो। दुर्घटनामा परेर ट्याङ्करले च्यापिएको अवस्थामा चालक फेला परेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी गरगरेबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। साथै, जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पशुपतिनगर र फापरबारीबाट समेत थप प्रहरी टोली उद्धारका लागि पुगेको थियो।
राति अन्दाजी १० बजे ट्याङ्करले च्यापेको अवस्थामा फेला परेका चालकलाई बाहिर निकालिएको भए पनि उनको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा जिल्ला सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ बस्ने अन्दाजी ४० वर्षका रमेशकुमार रायमाझी रहेका छन्।



