मंसिर २१,सिंगौल। बाराको निजगढ नगरपालिका-३ सिंगौलका एक युवाहरुको समूहले देउसी-भैलोबाट संकलित रकमबाट डस्टबिन खरिद गरेका छन्।
टोलका सचेत केही युवाहरुले देउसीभैलो खेलेको पैसाले बुधवार ६ ओटा डस्टबिन खरिद गरि वडाका विभिन्न स्थानमा राखेका स्थानीय समाजसेवी सन्तोष राउतले जानकारी दिएका छन्।
स्थानिय निरोज राउत,सरोज राउत,सुशील खुलाल, दिनेश थपलिया, पेन्टे बल, मोहन तिमल्सिना,बद्री तिमल्सिना र श्रीकृष्ण पौडेल लगायतका युवाहरुको समूहले देउसीभैलोबाट संकलित रकमबाट टोलमा डस्टबिन राखेका हुन्।
उनले स-साना कार्यहरुबाटै समाज परिवर्तनको थालनी गर्न सकिने भन्दै युवाहरुको कार्यलाई प्रशंसनिय भनेका छन्।
नगरपालिकाले उक्त क्षेत्रमा आवश्यक डस्टबिन उपलब्ध नगराएको उनले गुनासो गरेका छन्।
`यहाँका मानिसले थोत्रा बोरा पाए पनि फोहोर जम्मा गर्थे,युवाहरुले डस्टबिन ल्याए,सबैजना खुसी छन्।´ उनले भने।
उता वडा नम्बर ३ का वडाध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले नगरपालिकाले वडामा २० ओटा डस्टबिन ल्याईसकेको भएपनी टोलमा वितरण नगरिएको बताए।
उनले डस्टबिनमा सौजन्यका रुपमा वडाको नाम लेख्न बाँकी रहेकाले वितरणमा ढिलाई भएको बताएका छन्।
अब सार्वजनिक बिदा सकिने बितिक्कै वितरण गरिने उनको भनाई छ।
नगरपालिकाले ३ ओटा वडा रहेको सिंगौल क्षेत्रमा हप्तामा एकचोटि हरेक शुक्रवार मात्रै फोहोर संकलन गर्ने गरेको छ।



