पुस २,हेटौंडा। हेटौंडा उपमहानगरका पुराना दुई ठूला विद्यालयहरु भुटनदेवी मावि(प्राविधिक शिक्षालय) र आधुनिक राष्ट्रिय मावि एकीकरण प्रक्रियाका लागी उपमहानगरपालिकामा आवश्यक कागजात पेश गरिएको छ।

दुबै विद्यालयका प्रधानाध्यापकहरु रामसागर गुरागाईँ र माधव दाहाल, आधुनिक माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहम्मद समिम तथा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले मंगलवार आवश्यक कागजात नगर प्रमुख मिनाकुमारी लामालाई बुझाएका हुन्। वडाध्यक्ष सिग्देल भुटनदेवी माविका व्यवस्थापन समिति अध्यक्ष समेत हुन्।

सामुदायिक तर्फ हेटौंडाकै ठुला र उत्कृष्ट कहलिएका दुबै विद्यालय वडा नम्बर ४ मा अवस्थित छ।

दुई विद्यालयलाई एकीकरण गरि मेगा विद्यालय बनाउने अवधारणा अनुरुप आवश्यक प्रक्रिया अगाडि बढाउन दुवै विद्यालयका व्यवस्थापन समितिकाे निर्णय र वडा कार्यालयकाे सिफारिस बुझाईएको वडाध्यक्ष सिग्देलले बताए।

हेटौंडा प्रदेशको राजधानी पनि भएकोले मेगा विद्यालय सञ्चालन गरि हेटौंडालाई शैक्षिक हब बनाउने गरि अघि बढ्न् खोजेको उनको भनाई छ।

उपमहानगरले बिज्ञ टोली गठन गरेर मेगा विद्यालयको थप कार्ययोजना तयार पार्ने आधुनिक माविका व्यवस्थापन समिति अध्यक्ष समिमले बताए।

शिक्षा मन्त्रालयले `बिग स्कुल´को अवधारणा चलाउन थालेपछि गत भदौमा यी दुई विद्यालयहरु एकीकृत गर्न अनौपचारिक छलफल शुरु भएको थियो।

२०१६ सालमा स्थापित भुटनदेवी मावि हेटौंडाकै पहिलो विद्यालय हो।यहाँ करिब २ हजार २ सय र आधुनिकमा २ हजार ८ सय विद्यार्थी अध्ययनरत् छन्।यी दुई विद्यालयलाई एउटा पर्खालले छुट्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय