
असार६,निजगढ। बाराको निजगढ नगरपालिका वडा नम्वर १२ का दुई विद्यालयहरुमा एकदिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।
वडा कार्यालयको आयोजना तथा सामाजिक संस्था च्याप्टर नेपालको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।
कार्यक्रम विहिवार श्री सरस्वती आधारभूत विद्यालय कोलगाउँ र श्री नेपाल आधारभूत विद्यालय बुङ्जोरमा आयोजना गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख दीपक केसीले विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिएका थिए।
केसिले बालबालिकाहरुलाई सवारी सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी तथा व्यवहारिक अभ्यास समेत गराएका च्याप्टर नेपालका महासचिव सुदिप तिमल्सिनाले जानकारी दिए।
विद्यालय तथा समुदायमा ट्राफिक नियमप्रति सजगता बढाउने अपेक्षा अनुरुप कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष ज्ञानबहादुर गोलेले बताए।
वडाध्यक्ष गोलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू चन्द्रमान तामाङ, शम्भु थोकर, महिला वडा सदस्य सुकुमाया जिम्बा, वडासचिव अरुणकुमार बस्नेत, च्याप्टर नेपालका महासचिव सुदीप तिमल्सिना तथा दुबै विद्यालयका शिक्षकहरूको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण च्याप्टर नेपालका सदस्य योगेश न्यौपानेले गरेका थिए।