कार्तिक १९,निजगढ। बाराको जितपुरसिमरामा श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका श्रीमानलाई प्रहरीले पर्साको वीरगञ्जबाट पक्राउ गरेको छ।

​कात्तिक १७ गते बिहान अन्दाजी १०:३० बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० कञ्चनपुरस्थित ससुराली घर नजिकैको आँपबारीमा बोलाएर कुराकानी गर्ने क्रममा घरायसी विवाद उत्पन्न हुँदा स्थानीय २५ वर्षीया गुल्सान अन्सारीमाथि उनका श्रीमान्‌ले धारिलो हतियार छुरा प्रहार गरेका थिए।

बाराको फेटा गाउँपालिका वडा नम्बर ७ जोतपुर गमरिया बस्ने २८ वर्षीय अलियास अन्सारीले श्रीमतीको पेट लगायत शरीरका विभिन्न भागमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएर घटनास्थलबाट फरार भएका थिए।

​छुरा प्रहारबाट गम्भीर घाइते भएकी गुल्सानको बुबाको संलग्नतामा सुरुमा नारायणी अस्पताल वीरगञ्जमा उपचार गरिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज हेल्थकेयर लगिएकी उनको शल्यक्रिया गरी हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ।

​घटनालगत्तै फरार रहेका अभियुक्त अलियासलाई आज दिउँसो अन्दाजी १:०० बजेको समयमा अस्थायी प्रहरी पोस्ट इनर्वासिरा बाराबाट खटिएको प्रहरी टोलीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कस्थित एक होटलबाट पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा बाराबाट थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय