पुस १५,हेटौंडा।मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा साँढे ३ बिगाहा जमिनमा लगाईएको अवैध लागूऔषध गाँजाखेती फडानी गरि नष्ट गरेको छ।
प्रहरीले जिल्लाको थाहा नगरपालिका र कैलाश गाउँपालिकाका विभिन्न वडामा लगाईएको अवैध गाँजा खेती फडानी गरि नष्ट गरेको हो।
पुस १२ गते देखि १४ गतेसम्म ३ दिन सर्च अभियान जारी गरि थाहा नगरपालिका- ७ नम्बर वडाको चिसापानी, चल्तीदोभान, गैरीगाउँ, डाँडाबास,र ८ नम्बर वडाको भोर्ले, मोरिया, खानीगाँउ, ऐसेलुखर्क, दामगडेडाँडा लगायतका क्षेत्रमा १० कठ्ठामा र कैलाश गाउँपालिकाको ९ नम्बर वडाको गैरीखेत र टिमुरेमा १ बिगाहा १० कठ्ठा तथा १० नम्बर वडाको भालदमार, सालनी र बेतेघारीमा १ बिघा १० कठ्ठामा लगाईएको अवैध गाँजाखेती फडानी गरि नष्ट गरीएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको कमाण्डमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल नं.१४ गण हेड क्वार्टर मकवानपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक चिरञ्जिवी प्रसाईको कमाण्डमा २५ जना गरी जम्मा ३६ जनाको संयुक्त रुपमा खाटीएको टोलीले गाँजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ।



