असार२,हेटौंडा। मकवानपुरमा ३ थान पेस्तोल र ठूलो परिमाणको लागूऔषधसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका-१ का राजु स्याङ्तान छन्।

गत जेठ ३१ गते साँझ ७ बजे विशेष सूचनाका आधारमा स्याङ्तानको घरमा पुगेको वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले ३ थान विभिन्न मोडलका पेस्तोल र त्यसमा लाग्ने म्याग्जिन तथा २ किलो भन्दा बढी अफिम जस्तै देखिने कालो पदार्थ र २३ किलो जति लागूऔषध गाँजासहित स्याङतानलाई पक्राउ गरेको हो।

आफ्नै घर अगाडी फेला परेका स्याङतानको शरीर र घरगोठमा खनतलासी गर्दा उनी सुत्ने कोठामा सिरानीमुनि कपडामा बेरी राखेको7.65 MM Universal made in Italy 025 लेखिएको म्याग्जिनसहितको पेस्तोल १ थान, एउटा खाली म्यागजिन र १३ राउण्ड गोलि, गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरुभित्र कपडामा बेरी प्लाष्टिकको झोलाभित्र राखेको कटुवा पेस्तोल १ थान र 8 mm लेखेको गोली १२ राउण्ड,लागूऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८०० ग्राम तथा स्याङ्तानको घरबाट ५०० मिटर जतिको दुरीमा रहेको चन्द्रलाल मोक्तानको बारीमा आँपको रुखको फेदमा प्लाष्टिकमा बेरी सेतो बोराको झोलाभित्र लुकाई छिपाई राखिएको कटुवा पेस्तोल १ थान र त्यस्मा लाग्ने गोली ५ राउण्ड तथा लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थ १ किलो ४८० ग्राम फेला परेको प्रहरीले जनाएको छ।

स्याङ्तानलाई लागुऔषध र हातहतियारसहित नियन्त्रणमा लिई लागूऔषध तथा हतहतियार खरखजना समेतको कसुर मुद्धामा कारबाही भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार स्याङ्तान यसअघि पनि पटक पटक लागूऔषध तथा हातहतियार खरखजना मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्।

उनी २०७१ सालमा लागूऔषध मुद्दामा पक्राउ परि २ वर्ष कैद भुक्तान गरि छुटेका र फेरि २०७६साल साउन ४ गते लागूऔषध गाँजा तथा हातहतियार मुद्धामा पक्राउ परी पाँच बर्ष ६ महिना कैद सजाय भुक्तान गरी २०८१ सालको माघ महिनामा छुटेका डिएसपी अर्यालाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय