हेटौँडा, १० कात्तिक २०८३। मकवानपुरको हेटौँडामा प्रहरीले लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गतको प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीको संयुक्त टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा गरेको नियमित चेकिङका क्रममा उक्त सफलता प्राप्त भएको हो।
हेटौँडाबाट बारा तर्फ जाँदै गरेको BR1AP6073 नम्बरको भारतीय गाडीलाई शंका लागि चेकजाँच गर्दा सो गाडीको विभिन्न स्थानमा फल्सबटम बनाई लुकाइछिपाइ राखिएको १९ पोका गाँजा फेला परेको थियो।
गाडीको बोनट, चालक सिटमुनि र चालकको साइडको सिटमुनि खुट्टा राख्ने स्थानमा विशेष तरिकाले बनाइएको फल्सबटमभित्र प्लाष्टिकसहित शुद्ध तौल ४२ किलोग्राम ४१० ग्राम गाँजा प्याक गरिएको अवस्थामा बरामद गरिएको हो।
घटनामा संलग्न रहेको आरोपमा गाडी चालक भारतको जिल्ला बैसाली महुवा टोल बस्ने अन्दाजी २५ वर्षका बिर्जुकुमार राय र सोही गाडीमा सवार अन्दाजी २६ वर्षका मन्जयकुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद गरिएको गाडी र गाँजासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको प्रहरीले जनाएको छ।



