कार्तिक ६,हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ भावना मार्गमा एक दम्पतीबीच विवाद हुँदा श्रीमान् मृत अवस्थामा फेला परेका छन् भने श्रीमती गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार स्थानीय ४५-४६ वर्षीय शंकर कार्की घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् भने उनकी करिब ४० वर्षीया श्रीमती चरीमाया कार्की घाइते अवस्थामा भेटिएकी हुन्।

बिहीबार (कात्तिक ६ गते) विहान करिब १:४५ बजेको समयमा दम्पतीबीच झगडा भएको र फोन नउठेको भन्दै रामेछापस्थित महिलाका माइती पक्षले हेटौँडा-९ लामसुरे बस्ने पुरुषकी दिदी भवानी महतलाई खबर गरेका थिए।

खबर पाएलगत्तै भाइ-बुहारीको घर पुग्दा भित्रबाट चुकुल लगाइएको पाएपछि स्थानीय र प्रहरीलाई खबर गरिएको थियो।

घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट हरियालीबाट प्रहरी टोली खटिएको थियो। तल्लो तलामा भाडामा बस्ने मानिसहरू दशैँ मनाउन घर गएकाले घरमा श्रीमान्-श्रीमती मात्रै थिए।

प्रहरीले स्थानीय र मृतकका आफन्तको रोहबरमा दोस्रो तलामा भर्‍याङको सहायताले चढी ढोका फोडेर हेर्दा शंकर कार्की झुण्डिएको अवस्थामा र श्रीमती चरीमाया भान्साकोठामा घाइते अवस्थामा फेला परेका थिए। भान्साकोठामा बाहिरबाट चुकुल लगाइएको प्रहरीले जनाएको छ।

घाइते चरीमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि छोराले चितवनतर्फ लगेका छन्।

घटनास्थलमा रगत लागेको ढुङ्गाको लोहोरो र ईट्टा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा छुट्टाछुट्टै टोली खटिएको छ।

घटनास्थललाई सुरक्षित राखी प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय