कार्तिक २०,काठमाडौं।नेपाली मौलिक संस्कृति, पर्व र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार’ रिल भिडियो प्रतियोगिता आयोजना गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको निर्देशन तथा विशेष पहलमा यो प्रतियोगिताको सुरुवात गरिएको हो।
मन्त्री पौडेलकै पहलमा यसअघि बडादसैँका अवसरमा पनि पर्यटन प्रवर्द्धनका लागि देशका १०० स्थानमा लिङ्गे पिङ हाल्ने कार्य गरिएको थियो।
नेपालमा तिहारको दोस्रो दिन कुकुरलाई भैरवको वाहन र वफादार संरक्षणका रूपमा पूजा गरेर कुकुर तिहार मनाइन्छ, जसलाई विश्वमै जनावरको सम्मानमा मनाइने एक अनौठो पर्व मानिन्छ।
यही ऐतिहासिक पर्वलाई आधार बनाएर आयोजना गरिएको यस प्रतियोगिताले नेपाली संस्कृतिलाई विश्वभर चिनाउनुका साथै मानव र कुकुरबीचको ऐतिहासिक तथा आत्मीय सम्बन्ध, वफादारिता र सामीप्यतालाई उजागर गर्ने लक्ष्य राखेको छ।
साथै, जनावरप्रतिको दया, सद्भाव र सहअस्तित्वको भावनालाई अघि बढाउँदै युवा पुस्ताका डिजिटल सामग्री निर्माताहरूलाई प्रोत्साहित गर्नु पनि यसको मुख्य उद्देश्य रहेको छ।
यस प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना रिल भिडियो निर्मातालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुनका लागि भिडियो पूर्ण रूपमा सहभागीकै मौलिक सिर्जना हुनुपर्नेछ र त्यो कुकुर तिहारको थिममा आधारित हुनुपर्नेछ।
भिडियोमा परम्परागत टीका, सयपत्री फूलको माला पहिराएको वा कुकुरसँगका सुन्दर दैनिक पलहरू समेटिएको सिर्जनात्मक कथा वा प्रस्तुति हुनुपर्नेछ।
अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्य रहेकाले रिल भिडियो अनिवार्य रूपमा अङ्ग्रेजी भाषामा तयार पारिएको हुनुपर्ने नियम छ।अङ्ग्रेजी भ्वाइसओभर/न्यारेसन वा स्पष्ट अङ्ग्रेजी सबटाइटलसमेत हुनुपर्ने नियम बनाईएको छ।
सहभागीले आफ्नो रिल भिडियो आफ्नै आधिकारिक इन्स्टाग्राम वा फेसबुक अकाउन्टमा सार्वजनिकरूपमा पोस्ट गर्नुपर्नेछ।
पोस्ट गर्दा अनिवार्य रूपमा #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गरी इन्स्टाग्राममा @nepaltourism र फेसबुकमा Nepal Tourism Board को आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ।
सामाजिक सञ्जालमा सेयर गर्नुका साथै सहभागीले उक्त भिडियो फाइललाई गुगल ड्राइभमा अपलोड गरी (भ्युइङ र डाउनलोड पर्मिसन खुला गरेर) बोर्डको आधिकारिक इमेल photonepal@ntb.org.np मा समेत पठाउनुपर्नेछ।
प्रतियोगितामा भिडियो बुझाउने अन्तिम मिति नोभेम्बर २१, २०२६ (मंसिर ६, २०८३) सम्म निर्धारण गरिएको छ। दर्ता भएका सबै भिडियो रिल्सहरूलाई आगामी दिनमा नेपाल पर्यटन बोर्डले आफ्नो डिजिटल प्लेटफर्म वा सञ्चार माध्यमहरूबाट नेपालको पर्यटन प्रवर्द्धन, बजारीकरण र डिजिटल प्रचारप्रसारका लागि प्रयोग गर्न पाउने अधिकार सुरक्षित राखेको छ।


