ऋसोज ८,हेटौंडा । आजबाट नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशन हुँदै छ । अधिवेशनको तयारी तीव्र पारिएको छ भने नेतृत्व हत्याउने दौडमा आकांक्षीहरु सक्रिय बनिरहेका छन् ।
काठमाडौँको भृकुटी मण्डपमा हुने एमालेको प्रथम प्रदेश अधिवेशनबाट एमाले बागमती प्रदेशको नयाँ कमिटी निर्माण हुनेछ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।कार्यक्रममा भोली ९ गते बन्दसत्र तथा १० गते विद्युतीय मतदानको कार्यतालिका छ ।
बागमती प्रदेश अधिवेशनका लागि १३ वटा जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भैसकेका छन् भने ५ प्रतिशत मनोनयन गर्दा करिब २५ जना थप प्रतिनिधि थपिनेछन् । प्रत्येक पालिकालाई एक निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिएको एमालेले जनाएको छ ।
एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका १३२ जना छनोट भएका छन् । त्यसै गरी काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना तथा धादिङबाट ८७, दोलखाबाट ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् ।
बागमती प्रदेशमा एमालेका एक लाख नौ हजार सङ्गठित सदस्य रहेका छन् । एमालेले १२५ सङ्गठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था मिलाएको छ । दलितको हकमा भने ५० सङ्गठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरेको छ ।
पूर्व सांसद कृष्णभक्त पोखरेल , रामेछापका कैलाश ढुंगेल, काठमाडौँका सानु श्रेष्ठ, मकवानपुरका कृष्णप्रसाद दाहाल र नुवाकोटका केशवराज पाण्डे प्रदेश कमिटी अध्यक्षको आकांक्षीको रूपमा चर्चामा छन् ।
एमाले नेतृत्व सकभर सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्ने पक्षमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय