असोज १९, विराटनगर । प्रेमिकाको विषयमा विवाद भएपछि ‘ग्याङफाइट’का लागि हिँडेको १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो घरेलु हतियारसहित ग्याङफाइटका लागि हिँडेको समूहलाई पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये ९ जना १८ वर्ष मुनिका छन् । प्रहरीका अनुसार विराटनगरको एक कलेजमा पढ्ने युवतीलाई दुई जना युवकले मन पराएका थिए । प्रेमिकाको विषयमा यसअघि पनि दुई पक्षबीच विवाद भएको थियो । शुक्रबार फाइनल गर्ने भन्दै एउटा समूहले सुनसरीको बर्जुबाट युवाहरुको टोली बोलायो । अर्को समूह पनि विराटनगरमा तयारी अवस्थामा थियो ।
घरेलु हतियारसहितको टोली आएको जानकारी पाएपछि प्रहरीले सक्रियता बढायो । सुरुमा विराटनगरको घोगापुल चोकमा भेला भएका मध्ये दुई जना पक्राउ परे । अरु भागे । घरेलुहतियारसहित पक्राउ परेकाहरुलाई खोजी गर्ने क्रममा प्रहरीले १३ जनालाई सनीमन्दिर चोक नजिकैबाट पक्राउ ग¥यो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेको टोली एउटा समूह मात्रै हो । अर्को समूहको खोजी भइरहेको उनले बताए । उनका अनुसार पक्राउ परेकाको साथबाट तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीलगायतका घरेलु हतियार बरामद भएको छ ।



