असोज २१,अछाम। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेता धनगढी पुगिसकेका छन् । तर सुदूरपश्चिमका प्रभावशाली नेता तथा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका भीम रावल भने आफ्नै गृह प्रदेशको अधिवेशनमा पनि अनुपस्थित भएका छन् ।
अधिवेशनमा आमन्त्रण नगरेकाले आफू अधिवेशनमा सहभागी नभएको रावलले बताएका छन् । ‘म गृह जिल्ला अछाममै छु’, रावलले भने, ‘मलाई अधिवेशनबारे कसैले जानकारी गराएको छैन । कुनै जानकारी नै नभई जाने कुरा भएन’,रावलले भने ।
गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन् । गत साउन अन्तिम साता एमाले अध्यक्ष ओली र रावलबीच कुराकानी भए पनि एमालेले उनलाई पार्टीको जिम्मेवारी दिएको छैन ।



