कार्तिक १४,हेटौंडा।बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण गत कार्तिक १२ गतेदेखि परेको अविरल वर्षाले मकवानपुरस्थित कुलेखानी जलाशय (इन्द्रसरोबर) को जलसतह खतराको विन्दु नजिक पुगेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार आज (कार्तिक १४) साँझ ४:०० बजेसम्म जलाशयको जलसतह १५२९.०० मिटर पुगेको छ।
आज राति वा भोलिसम्म भारी वर्षा जारी रहेमा बाँधको सुरक्षाका लागि जुनसुकै समयमा मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आउन सक्नेछ।
बाँध खोलिँदा सिस्नेरी खोला तथा बागमती नदी किनारमा एकाएक ठूलो बाढी आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज राति उच्च सतर्कता अपनाउन र नदी किनारमा नजान अनुरोध गरिएको छ।
सडक आवागमनमा पूर्ण रोक
अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा पहिरोको सम्भावित जोखिम र जनधनको क्षति रोक्नका लागि भैंसे-भिमफेदी-देउराली-कुलेखानी-काठमाडौं सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।आज (कार्तिक १४) साँझ ५:०० बजेदेखि भोलि (कार्तिक १५) बिहान ५:०० बजेसम्म सवारी आवागमनमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यालयले सम्पूर्ण चालक तथा यात्रुहरूलाई सो अवधिभर उक्त मार्ग प्रयोग नगर्न र सुरक्षित स्थानमा रहन अपिल गरेको छ।



