कार्तिक १७,निजगढ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउने क्रममा भरुवा बन्दुकको छार्रा लागेर एक युवक गम्भीर घाइते भएका छन्।
हिजो १६ गते बेलुकी साढे ६ बजेको समयमा स्थानीय ३० वर्षीय गोबिन्द ठाडा मगरले बाँदर धपाउनका लागि भरुवा बन्दुक पड्काएका थिए। सोही क्रममा अचानक छार्रा लागेर उनका छिमेकी अन्दाजी ३२/३३ वर्षका उत्तम रमौलि मगर घाइते भएका हुन्।
घटनालगत्तै घाइते रमौलि मगरलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डक (पर्सा) लगिएको र हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे बेलुकी ६:५० बजे जिल्ला प्रहरी कार्यालय बारामा जानकारी प्राप्त हुनासाथ प्रहरीले तत्कालै सक्रियता देखाउँदै सुरक्षा टोली परिचालन गरेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको कमाण्डमा ७ जना, अस्थायी प्रहरी चौकी डुमरवानाबाट प्रहरी सहायक निरीक्षक संजयकुमार वर्माको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दायकृष्ण भट्टको कमाण्डमा २२ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
खटिएको प्रहरी टोलीले दुई नाल भरुवा बन्दुकसहित गोबिन्द ठाडा मगरलाई नियन्त्रणमा लिएको र यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सिमराबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।



