भदौ २६।हेटौंडा। मानवसेवा आश्रम हेटौँडाले मकवानपुरका स्थानीय तहहरुले अपेक्षाकृत सहयोग नगरेको गुनासो गरेको छ । आश्रमको मुख्य कार्यालय समेत रहेको हेटौँडास्थित आश्रममा बधवार आयोजीत एक अन्तरक्रियामा आश्रमका अध्यक्ष रामजी अधिकारीले तीनै तहका सरकार, व्यक्ति, समूह तथा विभिन्न सामाजिक संघ, संस्थाहरुको अनुदान र सहयोगबाट संस्था सञ्चालन भइरहेको भएपनि मुख्य कार्यालयकै रुपमा रहेको हेटौँडा आश्रमको प्रवद्र्धनमा भने यहाँका स्थानीय तहहरुले खासै चासो नदिएको गुनासो गर्नुभयो ।
कार्यक्रममा जनप्रतिनिधिका रुपमा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनको मात्रै उपस्थिति रहेको थियो । आश्रम संचालन गर्न मासिक २० लाख रुपैयाँभन्दा बढि रकम खर्च हुने गरेको अधिकारीको भनाई छ । आश्रममा आश्रित दुई सय २५ जना सहयोगापेक्षीहरुको खानपिन, स्वास्थ्य तथा सरसफाई लयायतमा उक्त रकम खर्च हुने गरेको उहाँले बताउनुभयो ।
यद्धपी जिल्ला समन्वय समिति मकवानपरका अध्यक्ष ललीत घलानले आश्रमलाई उच्च सम्मानकासाथ आफ्नो तर्फबाट सकिने सहयोग गर्ने बताउनभयो।
हालसम्म नेपालको २ वटा प्रदेश, ३ वटा जिल्ला, ६ वटा पालिका र २ वटा पूण्य क्षेत्रलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त क्षेत्र घोषणा गरिएको जानकारी गराइएको थियो । मकवानपुरलाई २०७४ साल फागुन ४ गते सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको हो । मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।



