असोज २९, पर्सा। वीरगंज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा आज (मंगलबार) दिउँसो गोली चलेको छ ।
भारत तर्फबाट चारजना व्यक्तिलाई खेद्दै आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले मितेरी पुल तलतिरको नेपाली भूमीमै छिरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएकी हुन्।
कबाड संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमीमा पर्ने अहरिवा टोलाबाट खेद्दै आएका एसएसबीका एक जवानले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताएकी हुन् ।
एसएसबीले चलाएको गोली भने कसैलाई लागेको छैन भने गोली चलाउनुको कारण पनि खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीले पनि घटनास्थलमा ईन्सास राईफलमा लाग्ने एउटा गोलीको खोका भेटिएको बताएका छन्। तर उनले खोका भेटिएपनि गोली नै चलेको भन्ने पुष्टि भइनसकेको बताए।



