पुस २२,हेटौंडा। मकवानपुर प्रहरीले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरि सवारी चलाउने २ जना सुमो चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले बा १ ज ४६१९ नम्बरको सुमो चालक सर्लाहीको बरहथवा नगरपालिका-८ बस्ने बर्ष ३२का फेमस खड्का र ना १ ज ७०२८ नम्बरको सुमो चालक हेटौंडा-८ का सुजन गुरुङलाई नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा खड्काले लागूपदार्थ र गुरुङले मादक पदार्थ सेवन गरि सवारी चलाएको पाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनिहरुलाई आवश्यक कार्वाही भैरहेको प्रवक्ता अर्यालले बताएका छन्।
जनगुनासो बढेपछि सवारी दुर्घट्ना र क्षति न्यूनिकरण गर्ने उदेश्यले आईतवार दिनभर जिल्ला प्रहरी, जिल्ला ट्राफिक प्रहरी र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा भीमफेदी-१ बाघझोरा स्थित हेटौंडा भैसे सडक-खण्डमा चेकजाँच गरिएको थियो।
प्रहरीका अनुसार ५२ जना चालकहरुलाई चेकजाँच गर्ने क्रममा २ जना चालकले लागूपदार्थ र मादक पदार्थ सेवन गरी सवारी चलाएको पाईएको थियो।
सवारी चालकहरुको लागूपदार्थ र मादक पदार्थ चेकजाँच निरन्तर हुने डिएसपि अर्यालले बताएका छन्।




