कार्तिक ५,हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका स्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
ब्रेक फेल भएर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका बकैया–५, भनौराका ४५ वर्षीय सन्तबहादुर माझीको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार हिजो ४ गते दिउँसो करिब २:१० बजे भनौराबाट जुरेलीतर्फ आउँदै गरेको बा.प्र.०८-००१ ह ०१०५ नम्बरको अटो बकैया–५, श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटना भएको थियो।
दुर्घटनामा अटोमा सवार सन्तबहादुर माझी, उनकी ४० वर्षीया श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका–१ का ८ वर्षीय बालक सन्देशकुमार मुक्तान घाइते भएका थिए।
घटनालगत्तै घाइतेहरूलाई उपचारका लागि हेटौँडास्थित मकवानपुर सहकारी अस्पताल पठाइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि टाउको, अनुहार र हातखुट्टामा गम्भीर चोट लागेका सन्तबहादुर र उनकी श्रीमती शान्तिमायालाई थप उपचारका लागि दिउँसो ३:१५ बजे चितवनको भरतपुर रिफर गरिएको थियो।
तर, भरतपुर लैजाने क्रममा बाटोमै सन्तबहादुरको स्वास्थ्य अवस्था थप बिग्रिएपछि साँझ ५:२० बजे पुनः हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतकको शव पोस्टमार्टम पश्चात आफन्तले बुझिसकेका छन्।
उता घाइते शान्तिमाया माझीको भने हेटौँडा अस्पतालमै उपचार भइरहेको छ भने बालक सन्देशकुमारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट गरगरेबाट खटिएको टोलीले अटोलाई नियन्त्रणमा लिएको छ। अटो चालक बकैया–४ का ५१ वर्षीय रामकाजी माझीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।



