फागुन२०,हेटौँडा । हेटौँडा अस्पतालले मुटु स्वास्थ्य सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पतालमा आगामी साताबाटै सेवा विस्तारको तयारी गरेको हो ।

अस्पतालमा मुटु सम्बन्धि सेवा संचालनका उपकरण हुँदा पनि विशेषज्ञ डाक्टर नहुँदा लामो समयदेखी सेवा संचालन हुन सकेको थिएन ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईंका अनुसार सम्भव रहेसम्म आगामी आइतबारबाट सेवा संचालनको तयारी गरिएको छ । टिचिङ अस्पतालमा अध्ययनरत मुटु स्वास्थ्य विशेषज्ञ डा. विकेश श्रेष्ठ अस्पतालमा हाजिर भए लगत्तै सेवा संचालनको तयारी गरिएको उनले बताए ।

अस्पतालमा मुटु स्वास्थ्य सेवा थप भएसँगै मुटु सम्बन्धी स्वास्थ्य समस्या हुँदा भरतपुर तथा काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने उनको दावी छ । अस्पतालमा मुटु स्वास्थ्य सम्बन्धी सेवा सुचारु भएपछि इको, ईसीजी, टीएमटी जस्ता परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने उनले बताए ।

रजिष्ट्रार गुरागाईंका अनुसार हेटौँडा अस्पतालमा २०८० सालमा नै मुटु स्वास्थ्य सम्बन्धी उपचार तथा परीक्षणका लागि उपकरणहरु प्राप्त भएको थियो । मुटु स्वास्थ्य विशेषज्ञ नहुँदा उक्त उपकरण थन्किएर बसेको थियो ।

रोटरी क्लब अफ मकवानपुरले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा १ करोड रुपैयाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो ।

सो उपकरण प्राप्त भएसँगै अस्पतालले मुटु स्वास्थ्य सम्बन्धी विशेषज्ञ डाक्टर नियुक्तिको पहल गरेको थियो । तर, डाक्टर नपाउँदा सेवा विस्तारको काम अघि बढ्न सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय