असार२५,हेटौंडा। हेटौंडा-११ स्थित सिमलटारमा अवस्थित शंकरज्योति माध्यमिक विद्यालयलाई टोल विकास संस्था नगर समन्वय समितिले ईलेक्ट्रिक वाटर फिल्टर तथा डिस्पेन्सर प्रदान गरेको छ।
टोलविकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आयोजित २५ औं स्थापना दिवस तथा रजत महोत्सव-२०८२ को विशेष अवसरमा ईलेक्ट्रिक वाटर फिल्टर तथा डिस्पेन्सर प्रदान गरिएको हो।

मंगलवार विद्यालय परिसरमा आयोजित विशेष समारोहकाबीच समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक महेश रिजाललाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्।
शिक्षण संस्थामा स्वच्छ पिउने पानीको पहुँच हुनु विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ दुवैका लागि महत्वपूर्ण हुने भएकाले संस्थाले गरिरहेको यस्ता साना प्रयासहरू सामूहिक प्रभावका हिसाबले निकै अर्थपूर्ण रहेको अध्यक्ष अधिकारीले बताए।
यस्तै,विद्यालयका प्रधानाध्यापक महेश रिजालले स्वस्थकर पानी पिउन पाउनु हरेक विद्यार्थीको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यस किसिमको सहयोगले विद्यार्थीहरूलाई स्वस्थ राख्न, सिकाइमा प्रेरणा दिन र विद्यालयको वातावरण अझ सकारात्मक बनाउन सघाउने बताए।
कार्यक्रममा प्रधानाध्यापक रिजाल,शिक्षक रोशन पराजुली, टोलविकास संस्था नगर समन्वय समितिकी उपाध्यक्ष सति न्यौपाने, उपहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू, टोलविकास संस्था वडा समन्वय समिति, हेटौंडा–११ का अध्यक्ष यज्ञबहादुर आचार्य लगायतको उपस्थिति थियो।
कार्यक्रममा सहभागी सबैले यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यहरूको निरन्तर आवश्यक रहेको धारणा राखेका थिए।
टोलविकास संस्था नगर समन्वय समितिले स्वास्थ्य, सरसफाइ, वातावरणीय संरक्षण, महिला सशक्तिकरण, साइबर सुरक्षाबारे जनचेतना र युवालाई लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।




