बैशाख १२,काठमाडौँ । कुनै समय सडकमा ‘नयाँ युग’को सपना देख्दै मुठ्ठी कस्ने तिनै हातहरू आज ओइलाएका छन्। जुन खुट्टाहरूले परिवर्तनका लागि सडक नापेका थिए, तिनै खुट्टाहरू आज बेपत्ता छन्।

जेन-जी पुस्ताका युवा संजिव सापकोटा, जसले आन्दोलनका क्रममा आफ्नो हात गुमाए, उनले कवितात्मक शब्दमार्फत सिंहदरबारको मौनतालाई एउटा गम्भीर प्रश्न गरेका छन्।

​सापकोटाले लेखेको कविता “सिंहदरबारको ऐना र रित्तो थाल” अहिले सामाजिक सञ्जालमा मात्र होइन, सत्ताको गलियारामा एउटा ऐना बनेर उभिएको छ।

​संजिवको कविताले आन्दोलनपछिको एउटा विद्रुप चित्र प्रस्तुत गरेको छ।

एकातिर घाइतेका शरीरमा अझै गोलीका छर्राहरू बिझाइरहेका छन् भने अर्कोतिर सत्ताको आडमा बिचौलियाहरूको भान्सामा ‘घ्यू र मह’ बगिरहेको छ। कवितामा भनिएको छ: “औषधि किन्ने पैसा छैन, चामलको बोरो रित्तो छ,देश बनाउँछु भन्नेको गोजी आज बिल्कुलै रित्तो छ।”
​यो पङ्क्तिले आन्दोलनकारीको वर्तमान अवस्था र आर्थिक अभावको चरम पीडालाई स्पष्ट पार्छ।

​घाइतेहरू जब न्याय र उपचारको माग गर्दै सरकारी अड्डा पुग्छन्, त्यहाँ उनीहरूलाई सहानुभूति होइन, व्यङ्ग्य र उपेक्षा मिल्ने गरेको संजिवको अनुभव छ।

“लोकसेवा पास गर” वा “आफ्नो बाटो आफैं तय गर” भन्ने जस्ता रुखा जवाफले घाइतेहरूको घाउमा नुन-चुक छर्किने काम गरेको उनले उल्लेख गरेका छन्।

कविताको सबैभन्दा कडा प्रहार ती अवसरवादीहरूमाथि छ, जसले सहिदको रगत र घाइतेको नाम बेचेर आफ्ना महलहरू टल्काए।

एकातिर उपचार नपाएर छट्पटाएका योद्धाहरू छन्, अर्कोतिर तिनैको नाममा पद र प्रतिष्ठा पड्काउनेहरूको लर्को छ।

संजिवले कविताको अन्त्यमा सिंहदरबारलाई कडा चेतावनी दिएका छन्। उनले ती रित्ता थालहरूले सत्ताको कुर्सीलाई सरापिरहेको र ननिदाएका आँखाहरूले न्याय खोजिरहेको उल्लेख गरेका छन्।

रगतले लेखिएको इतिहासलाई बिचौलियाको स्वार्थमा नमेट्न उनले सरकारलाई झकझक्याएका छन्।

संजिव सापकोटाको यो कविता एउटा व्यक्तिगत पीडा मात्र होइन, यो हजारौँ बेवास्ता गरिएका घाइतेहरूको सामूहिक आवाज हो।

के सिंहदरबारले यो ‘रित्तो थाल’को आवाज सुन्ला?

या तिनै भित्ताहरू फेरि पनि मौनता ओढेर जिस्क्याइरहनेछन्?

उनले लेखेका कविता जस्ताको तस्तै👇️

सिंहदरबारको ऐना र रित्तो थाल
हिजो सडकमा ढुङ्गासँगै सपना हुत्तिएका थिए,
मुठ्ठी कसेर उनीहरूले नयाँ युग भित्र्याएका थिए।
तर आज—
त्यही जेन-जीको खुट्टा छैन, जसले परिवर्तनलाई दौडायो,
त्यही हात छैन, जसले हकका लागि झण्डा फहरायो।
कस्तो विडम्बना!
घाइतेको शरीरमा अझै गोलीका टुक्राहरू बिझाउँछन्,
तर सिंहदरबारका भित्ताहरू मौनता ओढेर जिस्क्याउँछन्।
रातभरि दुखाइले निन्द्रा हराउँछ, ओछ्यान भिज्छ,
उता बिचौलियाको भान्सामा भने घ्यू र मह बग्छ।
औषधि किन्ने पैसा छैन, चामलको बोरो रित्तो छ,
देश बनाउँछु भन्नेको गोजी आज बिल्कुलै रित्तो छ।
सरकारी अड्डामा जाँदा सुनिन्छ— “लोकसेवा पास गर,”
हात-खुट्टा नभएकालाई भनिन्छ— “आफ्नो बाटो आफैं तय गर।”
चाकडी गर्नेले घाइतेको नाम बेचेर पद पड्काए,
अवसरवादीले सहिदको रगतमा आफ्ना महल टल्काए।
नेताले कार्यकर्ता पाले, कर्मचारीले आफ्नालाई काखी च्यापे,
तर ती सच्चा योद्धाको पीडा भने कसैले पनि नापेनन्।
पढ्ने उमेर थियो, भविष्य बनाउने जोस थियो,
तर आज उपचार नपाउँदा लाग्छ— “के यो मेरो दोष थियो?”
सहिदका आमाको आँशु अझै ओभाएको छैन,
घाइतेको घाउमा कसैले मलहम लगाउन आएको छैन।
ए सिंहदरबार!
ती रित्ता थालहरूले तिम्रो कुर्सीलाई सरापिरहेछन्,
ती ननिदाएका आँखाहरूले तिम्रो न्यायलाई निहारिरहेछन्।
रगतले लेखिएको इतिहासलाई अवसरवादले नमेट,
घाइतेका सपनालाई बिचौलियाको स्वार्थमा नमेट।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय