जेठ १४,हेटौंडा। मकवानपुरको हेटौँडाबाट चोरीका विभिन्न सामान र नगदसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको विशेष प्रहरी टोलीले विहिवार विहान दुई जनालाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

आज विहान अन्दाजी ३:३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित सानोपोखरा चोकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको थियो ।
पक्राउ पर्नेहरूमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौर घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ कमानेमा डेरा गरी बस्ने २३ वर्षीय चुडामणी खड्का र २१ वर्षीय टेकबहादुर खड्का छन् ।
प्रहरी टोलीले रितपूर्वक उनीहरूको शरीर तथा साथमा रहेको झोला खानतलासी गर्दा चोरीका सामानहरू बरामद भएको जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातुको दुई थान चुरा, एक थान औँठी, र दुई थान कानमा लगाउने झुम्का फेला परेको छ ।
यसैगरी, चोरीमा प्रयोग गरिने ताल्चा काट्ने बोल्डकटर एक थान, चार थान घडी, सुन राख्ने एउटा डब्बा र नगद ४ हजार ११५ रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
सामानसहित नियन्त्रणमा लिइएका चुडामणी र टेकबहादुर खड्कामाथि थप कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा म्याद अनुमति लिई हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको वडा प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।




