बैशाख २८,हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित लामबगरमा गएराति एउटा विद्युतीय सवारी (इभी) दुर्घटना हुँदा नौ जना भारतीय नागरिक घाइते भएका छन्।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१-०३३ च ५२५८ नम्बरको इभी गाडी सिस्नेरी-दक्षिणकाली-काठमाडौँ सडक खण्डमा ब्रेक फेल भई सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएको हो।

राति करिब ११:१० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानीखेतबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार यादव र सिस्नेरी चौकीबाट प्रहरी सहायक निरीक्षक रामवली साहको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा उद्धार कार्य सुरु गरेको थियो।
चालकसहित ११ जना सवार रहेको उक्त गाडीमा ९ जना भारतीय र २ जना नेपाली नागरिक रहेका थिए।
घाइते हुनेहरूमा भारतको बिहार, दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवीको अवस्था गम्भीर रहेको छ।
उनीहरूको टाउकोमा गहिरो चोट लागेको छ। त्यसैगरी, ५६ वर्षीया प्रझा देवी, ५२ वर्षीया रुद्र कुमारी झा र ७४ वर्षीय छत्रधर चौधरीको अवस्था मध्यम रहेको छ भने ६७ वर्षीय हम्रानाथ झा, ६६ वर्षीय अमरनाथ झा र ४२ वर्षीया अनिता झा सामान्य घाइते भएका प्रहरीले जनाएको छ।
सुरुमा बी एण्ड बी अस्पताल पठाइएका सबै ९ जना घाइतेहरूलाई थप उपचारका लागि ललितपुरस्थित अल्का अस्पताल पुर्याइएको छ र हाल त्यहाँ उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न धनुषा निवासी ३० वर्षीय चालक पिन्टु सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गाडीमा सवार अर्का नेपाली नागरिक असान साफी भने सामान्य अवस्थामा आफैँ घर फर्किएका छन्।
घटनास्थल प्रहरी चौकी खानीखेतबाट करिब ४ किलोमिटर उत्तर पर्दछ र हाल सडक अवरोध भने नरहेको प्रहरीले जनाएको छ।




