जेठ २५,हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मकवानपुर आगमनको पूर्वसन्ध्यामा स्थानीय स्तरमा पार्टीको कार्यशैली र जनसरोकारका विषयलाई लिएर गम्भीर प्रश्न उठेको छ।

सामाजिक कार्यकर्ता विशाल राज महतले सामाजिक सञ्जाल स्टाटस मार्फत सभापति लामिछानेलाई ‘घेराभित्रको चम्किलो रिपोर्टिङ’ बाट बाहिर निस्केर भुइँमान्छे र आम कार्यकर्ताको वास्तविक आवाज सुन्न आग्रह गरेका छन्।

​पार्टीभित्र मौलाउँदै गएको निषेधको राजनीति, आन्तरिक लोकतन्त्रको अभाव र जनजीविकाका सवालमा जनप्रतिनिधिहरूको उदासीनतालाई औंल्याउँदै महतले यसलाई विरोध नभई समयमै आत्मसमीक्षा गर्ने ‘खबरदारी’ भनेका छन्।

​महतले रास्वपाले बोकेको ‘वैकल्पिक शक्ति’ को नारा र भुइँतहको व्यवहारबीच ठूलो खाडल रहेको दाबी गरेका छन्। मकवानपुरमा अधिवेशनको नाममा कोठाभित्र बसेर प्रतिनिधि छान्ने, भेला र छलफल नगर्ने, र सुझाव दिने कार्यकर्तालाई उल्टै धम्क्याउने प्रवृत्ति बढेको उनको आरोप छ।

​”फरक मत राख्ने कार्यकर्तालाई गाली गर्ने, धम्की दिने र प्रहरी कार्यालयभित्रै हातपात गराउन युवा परिचालन गर्नेहरूलाई नै संरक्षण गरेर ‘हामीले पार्टी बनायौं’ भन्दै केन्द्रमा रिपोर्टिङ भइरहेको छ,” महतले लेखेका छन्, “असन्तुष्टि चुलिँदा पनि ‘सर्वसम्मत’ को नारा लगाएर दबाबको राजनीति गर्नेहरूलाई नेता बनाइँदैछ।”

​जनसरोकारका मुद्दामा माननीयहरूको ‘मौनता’ र उद्योगीसँगको ‘नेक्सस’

​स्टाटसमा रास्वपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू जनताका मुद्दा छोडेर स्टन्टबाजी र प्रचारबाजीमा मात्रै अलमलिएको गम्भीर आरोप लगाइएको छ।

मकवानपुरका प्रमख समस्याहरूमा जनप्रतिनिधिहरू मूकदर्शक बनेको उल्लेख गर्दै महतले केही बुँदागत प्रश्नहरू उठाएका छन्:

सुरुङमार्ग ठगी प्रकरण: हेटौंडा–काठमाडौं सुरुङमार्गको नाममा भएको ३४ करोडको ठगीबारे मन्त्रालयको ध्यानाकर्षण गराउँदा पनि कुनै परिणाम नआएको।

वातावरणीय प्रदूषण र उद्योगको संरक्षण: शिवम् सिमेन्टले नागरिकको स्वास्थ्य र वातावरणमाथि गरेको खेलवाडबारे आयोजित सार्वजनिक सुनुवाइमा माननीयहरू जनताको पक्षमा उभिनुको साटो उद्योगको पक्षमा (प्रवक्ता जस्तो भएर) उभिएको।

गुमनाम मुद्दाहरू: हेटौंडाको २५ मिटर सडक विस्तार प्रकरण, सुकुम्बासी समस्या, र युवाहरू लागूऔषधको जालोमा फसिरहेको दर्जनौं गम्भीर विषयमा जनप्रतिनिधिहरू हराइरहेको।

धराशयी उद्योगहरू: हेटौंडा सिमेन्ट र कपडा उद्योगको जर्जर अवस्था तथा जनताका आधारभूत आवश्यकतामा नेतृत्व मौन रहेको।

​”जनताले मत दिएका माननीयहरूलाई जनताकै समस्या सुन्न फुर्सद छैन। जनताको पीडा भन्दा उद्योगको माया ठूलो भयो। बजेट भाषणका बेला चुप लाग्ने अनि रिपोर्टिङ गर्दा भने ‘सबै राम्रो छ, स्थानीय तह सबै हाम्रो हुन्छ’ भन्दै भ्रम छर्ने काम भइरहेको छ,” स्टाटसमा भनिएको छ।

​महतले आफूहरू कुनै पदीय स्वार्थका लागि नभई भुइँमान्छेको समस्या बोकेर हिँडेको स्पष्ट पारेका छन्।

नयाँ राजनीतिक दलले पुरानो राजनीतिक संस्कार बदल्नेछ भन्ने आशामा जनताले मत दिएको स्मरण गराउँदै उनले प्रवृत्ति नसच्चिए लोकतन्त्रमा जनताले प्रश्न सोध्न नछाड्ने चेतावनी दिएका छन्।

​सभापति लामिछानेलाई लक्षित गर्दै उनले भनेका छन्, “मकवानपुरका केही थान नेताको चम्किलो रिपोर्टिङ मात्र सत्य होइन। सत्य त गाउँ, टोल, सडक र जनताका बीचमा छ। कृपया घेराभन्दा बाहिर निस्कनुहोस् र कार्यकर्ताको वास्तविक पीडा सुन्नुहोस्।”

​रास्वपा मकवानपुरको आन्तरिक कलह र नेतृत्वको कार्यशैलीलाई लिएर सामाजिक सञ्जालमा बहस तातिरहेका बेला आएको यो खुला विचारले पार्टीको आगामी रणनीति र सभापतिको भ्रमणमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय