जेठ २७,हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।

हिजो जेठ २६ गतेदेखि सञ्चालन भइरहेको अधिवेशनलाई आज जेठ २७ गते बिहान ८:०० बजेसम्मका लागि स्थगित गरिएकोमा प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया केही समयका लागि स्थगित गर्नुपरेको आयोगले जनाएको छ।

​आयोगका प्रमुख भुवन के.सी. द्वारा जारी विज्ञप्ति अनुसार, “अधिवेशन पूर्ण रूपमा रद्द भएको” भनी फैलाइएको सूचना भ्रामक रहेको र यो अधिवेशन रद्द नभई केही समयका लागि मात्र स्थागन गरिएको स्पष्ट पारिएको छ।

​मतपत्रमा देखिएका केही त्रुटिहरू सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न, करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न र प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रियालाई सहज बनाउन निर्वाचन रोक्नु परेको बिज्ञप्तीमा जनाईएको छ।

​नयाँ कार्यतालिका २४ घण्टा अगावै सार्वजनिक गरिने

​भ्रमवश मतदान स्थलबाट फर्किएका प्रतिनिधिहरूलाई समेत समेट्ने गरी अनुकूल समय प्रदान गरिने आयोगले जनाएको छ।

प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू सम्पन्न हुनासाथ बाँकी रहेको निर्वाचन प्रक्रियाको नयाँ मिति र थप विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक सूचनामार्फत जानकारी गराइने विज्ञप्तिमा उल्लेख छ।

​आयोगले सम्पूर्ण प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाहरूलाई कुनै पनि भ्रामक हल्लाको पछि नलाग्न र आयोगको आधिकारिक सूचनाको प्रतीक्षा गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय