जेठ २९,हेटौंडा। हेटौंडामा भोलि जेठ ३० गते एक दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा बिहान ८:०० बजेदेखि बेलुका ४:०० बजेसम्म शिविर सञ्चालन हुन लागेको हो।

हेटौंडा-४ नम्बर वडा कार्यालयको मुख्य आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर शाखाको सह-आयोजनामा यो शिविर हुन लागेको हो।
शिविरलाई सफलतापूर्वक सम्पन्न गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेष प्राविधिक सहयोग गरेको छ भने टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाले सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ।
शिविरमा विशेष गरी मुटु रोग, स्त्री रोग र क्षयरोग सम्बन्धी विशेषज्ञ सेवाहरू प्रदान गरिनेछ।
स्वास्थ्य परीक्षणका क्रममा बिरामीहरूका लागि भिडियो एक्सरे, ईसिजी, इको सेवा, सुगर र लिपिड प्रोफाइल चेकजाँच, छातीको एक्सरे तथा दम जाँच (पी.एफ.टी.) जस्ता महँगा सुविधाहरू पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराइनेछ।
यसका साथै महिलाहरूको पाठेघरको सामान्य जाँच र पाठेघरको मुखको क्यान्सरको समेत विशेष परीक्षण गरिने बताइएको छ।
शिविरमा जनरल फिजिसियन सेवा उपलब्ध हुनुका साथै चिकित्सकको सिफारिस बमोजिम बिरामीहरूलाई ७ दिनका लागि आवश्यक पर्ने औषधिहरू समेत नि:शुल्क वितरण गरिनेछ।
वडा अध्यक्ष नवीन सिग्देलले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर यो बृहत् कार्यक्रम ल्याइएकाले अस्पतालसम्म सहज पहुँच नभएका र आर्थिक रूपमा विपन्न सर्वसाधारण लगायत सम्पूर्ण नगरबासीहरूलाई शिविरमा उपस्थित भई यस नि:शुल्क सेवाको भरपूर उपयोग गर्न आग्रह गरेका छन्।




