भदौ ३१, काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारसँग वार्ता भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय वार्ता टोलीले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरेको हो ।
अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित सरकारी वार्ताटोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–सचिव रहेका छन् ।
स्वास्थ्य मन्त्रालयमा आइतबार दिउँसो २ बजेदेखि वार्ता जारी छ । भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएपछि नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगााडि बढाउन दवााव दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो । जसका कारण अस्पतालमा पुगेका बिरामीहरु उपचार नपाइ फर्किरहेका छन् ।



