असोज २,धनगढी । टीकापुर घटनामा जेल सजाय भोगिरहेका ४ जना बन्दी संविधान दिवसका दिन रिहा भएका छन् । कैलाली कारागारमा रहेका ३ जना र पोखरास्थित बाल सुधार गृहमा रहेका एकजना गरी ४ जना बन्दी रिहा भएका हुन् । कैलाली कारागारबाट ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षी हरिनारायण चौधरी बुधबार रिहा भएका हुन् । बीरबहादुर २०७२ सालको भदौ १४ गते, प्रदीप २०७२ साल भदौ २८ गते र हरिनारायण घटना भएको भोलिपल्ट अथवा २०७२ सालको भदौ ८ गते पक्राउ परेका थिए ।
तीनैजनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा कैद सजाय तोकिएको थियो । घटनाका मुख्य आरोपी भनिएका रेशमलाल चौधरी यसअघि नै रिहा भइसकेका थिए । राजनीतिक पहुँच भएका कारण रेशम रिहा भएका तर सामान्य व्यक्ति नछुटेका भन्दै आलोचना भइरहेका बेला संविधान दिवसका अवसरमा तीनैजना रिहा भएका हुन् ।
नाबालक श्रवण चौधरी पनि बुधबार नै रिहा भएका छन । थरुहट प्रदेशको माग गर्दै २०७२ सालको भदौ ७ गते टीकापुरमा भएको झडपका क्रममा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका २ जना निरीक्षक, हवल्दार, जवान, सशस्त्र प्रहरी हवल्दार र नाबालक गरी ९ जनाको ज्यान गएको थियो ।

रेशमलाल चौधरीको रिहाइका बारेमा सर्वोच्च अदालतले सार्जजनिक गरेको पूर्ण पाठमा भने उनलाई छोडनु उचित नभएको ठहर गरिएको छ । रेशम चौधरीको रिहाइका विरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले सर्वोच्च अदालतमा रिट निवेदन दिँदै रेशमलाई पुनः पक्राउ गर्न माग गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय