असोज २,वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । जगरनाथपुर गाउँपालिका –५ मसिहानीकी अन्दाजी ४० वर्षीया कान्तिदेवी मुखिया बिनको आफ्नै घरमा मंगलबार साँझ घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनबिक्रम केसीका अनुसार मंगलबार साँझ ५ बजेतिर घाँटी रेटिएको अवस्थामा बिनको शव उनकै घरमा भेटिएको हो । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको भेटिएको केसीले बताए।
बिनका दुई छोरा र तीन छोरी छन् । छोरीहरूको विवाह भइसकेको छ भने कामको सिलसिलामा एकजना छोरा विदेश र अर्का छोरा हेटौँडा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएको केसीले जानकारी दिए ।
मृतक बिनलाई मंगलबार दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी एकजना छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो ।
प्रहरीले घटनास्थलमा बिनको टाउकोमा प्रहार गर्न प्रयोग भएको हुनसक्ने एउटा बाँसको भाटा पनि बरामद गरेको छ । शंकास्पद कोहीपनि पक्राउ परेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय