असोज ५, दाङ । जिल्ला प्रहरी कार्यालय सल्यानले आमाछोरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिका २ झालेढुंगाका २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको हत्या आरोपमा पक्राउ पर्नेमा सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २९ वर्षीय कर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गत भदौ ३० गते रेवती थापा र उनकी नाबालिका छोरी ऋतु मृत भेटिए । शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका थियो । तर घटना अनुसन्धान गर्दै जाँदा आमा छोरीको मृत्यु आगलागीबाट नभई हत्या भएको खुलेको प्रहरीले दाबी गरेको छ ।
प्रहरीका अनुसार हत्याको आरोपमा पक्राउ परेका कर्णबहादुर रेवतीका पूर्व प्रेमी हुन् । फेसबुकबाट जोडिएका उनीहरुबीच प्रेम सम्बन्ध बनेको थियो ।पछि प्रेम सम्बन्ध टुटेकाले त्यसकै इगो साँध्नको लागि हत्या गरेको अभियुक्तले बयानका क्रममा बताएको प्रहरीले जनाएको छ ।



