असोज ७, हेटौंडा । मकवानपुर प्रहरीले भन्सार छली ल्याएको अबैध मदिरासहीत ५ जना पक्राउ गरी सार्वजनीक गरेको छ । प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट ८५५ बोतल अवैध मदिरा सहित २ वटा कार पनि नियन्त्रणमा लिएको छ । शुक्रबार र शनिबार चितवनबाट आउँदै गरेको भारतीय डीएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको कार चेकजाँच गर्ने क्रममा मदिरासहित पाँच जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
पक्राउ पर्नेहरूमा भारतको पश्चिम दिल्ली बस्ने २७ वर्षीय बिक्की, २५ वर्षीय राहुल, २८ वर्षीय कुनाल, ३१ वर्षीय नहिम र ३७ वर्षीय राजु रहेका छन् । हेटौंडा–१५ रातोमाटे स्थित प्रहरी चेकपोष्ट अगाडि सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा ग्रिन ह्वस्की ३७५ एमएलको ७ सय १५ बोतल र १८० एमएलको १ सय ४० बोतल गरी ८ सय ५५ बोतल मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
चाडपर्व नजिकीएसंगै मकवानपुर प्रहरीले अवैध रुपमा भित्रिने सामाग्रीहरुमाथी निगरानी बढाएको छ ।



