असोज २१, जनकपुरधाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित प्रतिष्ठानले राज्यकोषबाट रकम लिएर अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्व अर्थमन्त्री सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले भ्रष्टाचारको आरोपमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि मुद्दा चलाएको छ । झलनाथका नाममा स्थापित संस्थाको नाम फेरेर अहिले राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद बनाइएको छ । सामाजिक संस्था भनिएको उक्त संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनी हो ।
अख्तियारले मधेश प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार यादव, सचिव प्रेमकुमार श्रेष्ठ, सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्का विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय विरुद्ध पनि भ्रष्टाचार मुद्दा चलेको छ । उनीहरुमाथि १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ विगो माग दाबी छ ।
सर्पको विष संकलन प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि झलनाथ खनाल प्रतिष्ठानले उक्त रकम पाउने योजना बनेको थियो । सर्पले डसेका बिरामीलाई एन्टिस्नेक भेनम दिइन्छ । एन्टिस्नेक भेनमका लागि सर्पकै विष आवश्यक पर्छ ।
एन्टिस्नेक भेनमका लागि सर्पका साथसाथै घोडा पनि पाल्नुपर्छ । सर्पले डसेपछि घोडाको शरीरले उत्पादन गर्ने एन्टिबडीबाट मानिसका लागि आवश्यक पर्ने एन्टिस्नेक भेनम बनाइन्छ । एन्टिस्नेक भेनमका लागि विनियोजन भएको बजेट अन्यत्र दुरुपयोग भएको अख्तियारको दाबी हो ।



